काठमाडौं— विवादास्पद व्यापारी तथा बिचौलिया दीपक भट्टमाथि थप कारबाहीका विषयमा अर्थ मन्त्रालयमा बिहानैदेखि उच्चस्तरीय छलफल चलिरहेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरबीच भएको छलफलले लामो समयदेखि ‘सत्ता–शक्ति’को संरक्षणमा सुरक्षित रहेको भट्टमाथि मुद्दा अघि बढाउने अन्तिम निर्णयमा पुग्ने अपेक्षा गरिएको छ।
१२ वर्षअघि उनले प्रहरी मुख्यालयमा प्रहरीका लागि हतियार खरिद गर्ने ‘डिल’ मिलाएको गोप्य संवाद बाहिरिए पनि तत्काल कुनै कारबाही नभएको थियो।
हाल उनलाई तत्काल देश छाड्न सक्ने सम्भावना देखिएकोले विभागले हतारमा उनलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो। अब भट्टले सरकारी अनुमति बिना देश छाड्न पाउने छैनन्।
इन्फिनिटी होल्डिङ्सका प्रमुख भट्टमाथि जलविद्युत्, बैंक–बीमा, सार्वजनिक खरिददेखि बजेट निर्माणसम्म आफ्नो प्रभाव जमाएको गम्भीर आरोप लागेको छ।






































