काठमाडौं— प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन्। यसअघि रास्वपाका सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावलाई स्वर्णिम वाग्ले र सोविता गौतमले समर्थन जनाएका थिए।
काठमाडौं क्षेत्र नम्बर–९ बाट गत फागुन २१ गते निर्वाचित भएका अर्यालले यसअघि पनि विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। २०७९ सालमा समानुपातिक सांसद बनेका उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा पनि काम गरिसकेका छन्।
रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका बेला अर्यालले पार्टीको नेतृत्व सम्हाल्दै सक्रिय भूमिका निर्वाह गरेका थिए।




































