काठमाडौं— गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेटेर भ्रष्टाचारसम्बन्धी ठूला मुद्दाको अनुसन्धान र अभियोजनमा तीव्रता दिन आग्रह गरेका छन्।

गृहमन्त्रीनिकट स्रोतका अनुसार गुरुङ तीन दिनअघि आफ्ना केही सहयोगीसहित राईलाई भेट्न पुगेका थिए। भेटमा उनले सरकारले अख्तियारलाई पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्रोतका अनुसार गृहमन्त्रीले राईसँग भनेका थिए, “सरकारको स्पिरिटलाई समाएर काम गर्नुहोस्। तपाईँलाई सूचना, जनशक्ति चाहिन्छ भने भन्नुहोस्, म दिन तयार छु। कसैलाई पनि नछाड्नुहोस्, धमाधम फाइल खोल्नुहोस्। हाम्रो साथ रहनेछ।”

यसअघि पनि प्रमुख आयुक्त राईले आफूले निष्पक्ष अनुसन्धान गर्दै पूर्वप्रधानमन्त्री, पूर्वमुख्यसचिव र उच्च तहका कर्मचारी मुछिएका ठूला भ्रष्टाचार काण्डमा अभियोजन अघि बढाएको जानकारी गृहमन्त्रीलाई गराएका थिए।

स्रोतका अनुसार गृहमन्त्रीको स्पष्ट समर्थनपछि दल र नेताको दबाबका कारण लामो समयदेखि रोकिएका ‘ठूला माछा’ मुछिएका दर्जनौँ भ्रष्टाचार काण्डको अनुसन्धानलाई अख्तियारले फेरि तीव्रता दिएको छ।

सरकारको उच्च तहबाट आएको यस्तो संकेतले अब राजनीतिक पहुँच, शक्ति र प्रभावका आधारमा भ्रष्टाचारका फाइल दबाएर राख्ने प्रवृत्तिमा कमी आउने अपेक्षा गरिएको छ। अख्तियारले अब ठूला राजनीतिक व्यक्तित्व, पूर्वप्रशासक र प्रभावशाली समूहसँग जोडिएका पुराना फाइलहरू समेत पुनः सक्रिय रूपमा अघि बढाउने तयारी गरेको स्रोतको दाबी छ।