काठमाडौं— संघीय संसद अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दैछ । सबै बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक संघीय संसद सचिवालयमा बस्नेछ । बैठकमा समितिको सभापति निर्वाचन सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ ।

त्यस्तै, सिंहदरबार स्थित संसद भवन नं २ मा बस्ने अर्को बैठक समितीका ज्येष्ठ सदस्य कृष्ण प्रसाद सिटौलाको अध्यक्षतामा सञ्चालन हुनेछ । उक्त बैठकमा नयाँ माननीय सदस्यहरूको स्वागत, सभापति निर्वाचन तथा विविध विषयमा छलफल गरिने जनाइएको छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति को ३२४औँ बैठक पनि आजै बस्दैछ । बैठकमा समितिको सभापति निर्वाचन र अन्य विविध विषयमा छलफल हुनेछ । उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को बैठक पनि दिउँसो १ बजे नै बस्नेछ ।

बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१०) बमोजिम रिक्त रहेको सभापति पदको निर्वाचन, नयाँ सदस्यहरूको स्वागत तथा अन्य विषयमा छलफल हुने कार्यसूची रहेको छ ।