सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशमा रहेका बहु आयामिक सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय अन्तर्गतका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।

मंगलबार परराष्ट्र मन्त्रालय नेपालको आर्थिक कूटनीति महाशाखाले सुर्खेतमा आयोजना गरेको ‘निर्यात व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन’ सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले कर्णालीका सम्भावनालाई विश्वसामु उजागर गर्न समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, धार्मिक स्थल तथा साहसिक पर्यटनका दृष्टिले अत्यन्तै सम्भावनायुक्त प्रदेश भए पनि आवश्यक प्रचार–प्रसार र पहुँचको अभावका कारण पछि परेको उल्लेख गरे । उनले विदेशमा रहेका नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूलाई कर्णालीको पहिचान र सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन विशेष पहल गर्न आग्रह गरे ।

‘हाम्रा दूतावासहरूले कर्णालीका पर्यटकीय गन्तव्य, कृषि उत्पादन, जडीबुटी तथा सम्भावित लगानीका क्षेत्रबारे विश्वलाई जानकारी गराउन सक्नुपर्छ । यसले निर्यात वृद्धि, विदेशी लगानी भित्र्याउने र पर्यटन प्रवद्र्धनमा ठोस योगदान पु¥याउन सक्छ,’ उनले भने ।

उनले कर्णालीमा जलस्रोत, कृषि, जडीबुटी, पर्यटन तथा खनिज क्षेत्रहरूमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै यी क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने बताए । साथै, निजी क्षेत्रसँगको सहकार्यलाई मजबुत बनाउँदै लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।

मुख्यमन्त्री कँडेलले विगतमा केन्द्र सरकारले कर्णालीप्रति विभेद गरेको बताए । उनले सोही कारण प्रदेश विकासमा पछि परेको दाबी गर्दै अब त्यस्तो अवस्था दोहोरिन नदिन सबै तहका सरकारबिच सहकार्य आवश्यक रहेको बताए । ‘विगतमा हामीले धेरै कुरा मात्र ग¥यौँ, अब परिणाम दिने काम गर्नुपर्छ,’ उनले जोड दिए ।

कार्यक्रममा आर्थिक कूटनीतिमार्फत निर्यात प्रवद्र्धन, विदेशी लगानी आकर्षण तथा पर्यटन विकासका उपायबारे विभिन्न सरोकार बालाबिच छलफल गरिएको थियो। सहभागीहरूले कर्णालीका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन ब्रान्डिङ, गुणस्तर सुधार र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

त्यसै गरी, कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रचार–प्रसार, हवाई तथा स्थल पहुँच विस्तार, तथा स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गरी निर्यातयोग्य बनाउने विषयमा पनि जोड दिइएको थियो । कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, उद्योगी–व्यवसायीको उपस्थिति रहेको थियो ।