सुर्खेत— कर्णाली प्रदेश सभा सचिव जीवराज बुढाथोकीले पदबाट राजीनामा दिएका छन् । उमेर हद पार गरिसक्दा पनि पदमा कायम रहन खोजेको भन्दै उनीमाथि पछिल्लो समय आलोचना हुँदै आएको थियो ।

मंगलबार साँझ उनले आन्तरिक रूपमा राजीनामा पत्र तयार गरी प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकेको स्रोतले जनाएको छ । प्रदेश प्रमुख कार्यालयका एक अधिकारीले पनि निवेदन प्राप्त भएको पुष्टि गरेका छन् । तर प्रदेश प्रमुख यज्ञराज जोशी हाल प्रदेश बाहिर रहेकाले उनको राजीनामा स्वीकृत हुन केही समय लाग्ने देखिएको छ ।

कर्णाली प्रदेश सभा सचिव बुढाथोकीमाथि दोहोरो सुविधा लिएको आरोपदेखि आफ्नै श्रीमतीलाई स्वकीय सचिव बनाएर तलब बुझाएको विषयमा विवादहरू हुदैं आएका थिए । यसअघि पनि दोहोरो सुविधा लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीलाई दुई पटक पत्र काटेको थियो । सचिवालयभित्रै पनि उनका कतिपय अभिलेख उपलब्ध नभएको भन्दै कर्मचारीहरूले असन्तुष्टि जनाउँदै आएका छन ।

६५ वर्ष उमेर नाघेपछि स्वतः पदमुक्त हुनुपर्ने व्यवस्था भए पनि कानुनी अस्पष्टता देखाउँदै उनलाई निरन्तरता दिन सभामुख नन्दा गुरुङ सक्रिय देखिएकी थिइन् । यसैबीच, सचिव बुढाथोकीले बढ्दो आलोचना र विवादका कारण पद छाड्ने निर्णय गरेका हुन् ।