काठमाडौं— प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। मन्त्री नियुक्त भएको जम्मा १४ दिनमै विभिन्न विवादमा मुछिएपछि प्रधानमन्त्रीले यस्तो निर्णय लिन लागेका हुन्।
मन्त्री साहविरुद्ध एमबीबीएसमा नाम निकालिदिने भन्दै पैसा उठाएको आरोपमा पक्राउ पुर्जी जारी भएको विषय सार्वजनिक भएपछि विवाद चर्किएको थियो। साथै उनकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुनः सक्रिय गराइएको विषयले पनि थप आलोचना निम्त्याएको छ।
विवाद बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि मन्त्री साहको भूमिकाबारे प्रश्न उठ्न थालेका छन्। पार्टी सभापति रवि लामिछानेले मन्त्रीसम्बन्धी विषयमा गम्भीर चासो व्यक्त गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेर साहलाई जिम्मेवारीबाट अलग गर्न आग्रह गरेका छन्।
यसैबीच, सभापति लामिछानेले स्वास्थ्य मन्त्री निशा मेहताको कार्यसम्पादनप्रति पनि असन्तुष्टि जनाउँदै उनलाई सचेत गराउन पार्टीबाट प्रधानमन्त्रीलाई सिफारिस गरिएको जनाइएको छ।





































