विर्तामोड— नेपाली कांग्रेस झापाले जरा अभियानलाई प्रभावकारी बनाउन बैशाख १२ गतेदेखि क्षेत्रस्तरीय कार्यक्रम सञ्चालन गर्ने भएको छ। सोअनुसार बैशाख १२ गते क्षेत्र नं–१ र २, १३ गते क्षेत्र नं.–३ र ४ तथा १४ गते क्षेत्र नं–५ मा प्रविधिमैत्री अभिमुखीकरण कार्यक्रम आयोजना गरिने निर्णय गरिएको हो।

बैशाख ५ गते बसेको जिल्ला कार्यसमितिको बृहत बैठकले उक्त कार्यक्रम तालिका तय गरेको हो। बैठक जिल्ला सभापति देउकुमार थेवेको सभापतित्वमा तथा केन्द्रीय प्रतिनिधिद्वय बसन्त भट्टराई र रुद्रबहादुर कन्दङ्वाको उपस्थितिमा सम्पन्न भएको थियो।

बैठकले प्रत्येक क्षेत्रमा जिल्ला प्रतिनिधिसमेत तोकेको छ। क्षेत्र नं–१ मा उपसभापति केशवराज पाण्डे, क्षेत्र नं–२ मा सचिव कृष्ण हुमागाईं र कोषाध्यक्ष जलकुमार गुरुङ, क्षेत्र नं–३ मा सचिव नवीन विमली र सहसचिव कालेन्द्रप्रसाद सिंह राजवंशी, क्षेत्र नं–४ मा सभापति देउकुमार थेवे र सहसचिव कमलप्रसाद भण्डारी तथा क्षेत्र नं–५ मा उपसभापति शेरबहादुर भट्टराईलाई जिम्मेवारी दिइएको छ।

क्षेत्रस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएपछि वडास्तरमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यतालिका बनाइने जनाइएको छ।

उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका सबै वडाका सभापति र सचिव, नेविसंघ र नेपाल तरुण दलका प्रविधि जानकार प्रतिनिधि, गाउँ–नगर तथा प्रदेशसभा क्षेत्रका पदाधिकारी, केन्द्रीय तथा पूर्व केन्द्रीय सदस्य, सांसद तथा पूर्व सांसद, उम्मेदवार, कोशी प्रदेशका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका सदस्य, स्थानीय तहका जनप्रतिनिधि तथा भातृ एवं शुभेच्छुक संस्थाका विभिन्न तहका अध्यक्षहरूको सहभागिता रहनेछ।

क्रियाशील सदस्यता अद्यावधिकका लागि डिजिटल प्लेटफर्म सञ्चालन गर्न नेविसंघ र नेपाल तरुण दलबाट जनशक्ति परिचालन गर्ने निर्णय पनि गरिएको छ। यसका लागि उपसभापति केशवराज पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। उपसमितिको सदस्य सचिवमा कृष्ण हुमागाईं रहेका छन् भने सदस्यहरूमा लोकराज ढकाल, पुष्प पौडेल, सजेश शिवाकोटी र सञ्जय निरौला रहेका छन्।