काठमाडौं— टिकटकमार्फत उपहारको नाममा ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले इलामको फाकफोकथुम गाउँपालिका–६ का २७ वर्षीय सुजन लिम्बू उर्फ सुशन थेगिम पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनले ‘रोहन राजपूत’ नामबाट टिकटक आइडी सञ्चालन गर्दै नेपाली महिलासँग चिनजान बढाउने गर्थे। सुरुमा सामान्य कुराकानीमार्फत विश्वास जितेपछि उनले विभिन्न प्रलोभन देखाउँदै ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
उनले डलर, गरगहना लगायतका उपहार पठाइसकेको दाबी गर्दै ती सामान काठमाडौँ विमानस्थलस्थित डीएचएल शाखामा आइपुगेको भन्दै सन्देश पठाउने गरेका थिए। त्यसपछि सामान छुटाउन भन्सार शुल्क तिर्नुपर्ने बहाना बनाई पीडितसँग रकम माग्ने गरेको प्रहरीले जनाएको छ।
ह्वाट्सएपमार्फत सम्पर्कमा आएका महिलाहरूलाई विभिन्न बैंक खातामा पैसा जम्मा गर्न लगाइएको र हालसम्म करिब २ लाख रुपैयाँ ठगी गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीले आरोपीबाट मोबाइल फोन र सिम कार्ड समेत बरामद गरेको छ। प्रारम्भिक तथ्यअनुसार उनले ४० भन्दा बढी महिलासँग सम्पर्क गरेको पाइएको छ।
घटनापछि प्रहरीले यस्ता अनलाइन प्रलोभन र ठगीबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।





































