काठमाडौं— होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले बागमती किनारालगायत अरु क्षेत्रबाट उठाइएका सुकुम्बासीहरूलाई अस्थायी बसोवासको व्यवस्था गर्ने भएको छ । शनिबार सरकारले काठमाडौंको थापाथली, सिनामंगललगायतका नदी किनारमा लामो समयदेखि अस्थायी टहरा लगाएर बसेका सुकुम्बासीहरूलाई हटाएको थियो । योसँगै होटल संघ नेपाल, बागमती प्रदेशले घरबास गुमाएका सुकुम्बासीहरूलाई खानपानसहितको अस्थायी बसोवासको व्यवस्था गर्ने घोषणा गरेको हो । 

संघका अध्यक्ष दामोदर नेपालले भने, ‘घरबास गुमाएका सुकुम्बासीहरूलाई संघ अन्तर्गतका प्रदेशभित्रका होटल, रिसोर्ट तथा गेस्ट हाउसहरूमा अस्थायी बसोवासको व्यवस्था गर्नेछौँ ।’

संघले विज्ञप्तिमार्फत थप भनेको छ, ‘जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्वार गरेका नागरिकको सुरक्षित व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न हाम्रो संघ पूर्ण रूपमा तयार रहेको जानकारी गराउँछौँ ।’