-देवेन्द्र के. ढुङगाना 


जिन्दगी सिधा

रेखाजस्तो हुँदैन,

यो मोडिन्छ,

टुट्छ,

र फेरि कतै अचानक

एउटा नयाँ दिशातिर

अघि बढ्छ।


तर ती मोडहरू

केवल व्यक्तिगत पीडाका कथा होइनन्,

त्यहाँ लुकेका हुन्छन्

समाजका अदृश्य जञ्जीरहरू,

असमानताका गहिरा खाडलहरू,

र शोषणका नदेखिने पर्खालहरू।


हामी,

हरेक मोडमा

अलि–अलि बदलिँदै

मात्र बाँच्न सिक्दैनौं,

हामी त

प्रश्न गर्न पनि सिक्छौं—

किन टुट्छ जिन्दगी?

किन मोडिन्छ सपनाहरू?

किन केहीका बाटाहरू सधैं सीधा,

र केहीका पाइलाहरू सधैं काँडामाथि हुन्छन ?


यो जिन्दगी

केवल सहनका लागि होइन,

यो त बदल्नका लागि हो,

फेर्नका लागि हो

त्यो पुरानो नक्सा

जहाँ केही हातहरू सधैं माथि

र धेरै हातहरू

सधैं तल हुन्छन्।


जब जिन्दगी मोडिन्छ,

त्यो मोड केवल नियति होइन,

त्यो त संकेत हो—

अब नयाँ दिशा रोज्ने समय आएको छ।


हामीले देखेका छौं

पसिनाले भिजेका अनुहारहरू,

रित्तो थाल लिएर

भोलिको आशा कुर्दै बसेका आँखाहरू,

र ती हातहरू

जसले शहर बनाउँछन्,

तर आफैंका लागि

एउटा सानो छानो पनि पाउँदैनन्।


यही मोडमा

हामी बदलिन्छौं—

डरबाट साहसमा,

चुप्पीबाट आवाजमा,

र स्वीकृतिबाट विद्रोहमा।


टुट्नु अन्त्य होइन,

टुट्नु त सुरुवात हो

पुरानो संरचना भत्काउने,

नयाँ सम्भावना उठाउने हो ।


जब हामी भाँचिन्छौं,

हाम्रो भित्री आवाज

अझ स्पष्ट हुन्छ,

त्यो भन्छ—

“अब उठ,

अब चुप लागेर बस्ने समय सकियो।”


हामी सिक्दै जान्छौं

केवल बाँच्न होइन,

लड्न पनि,

केवल सहन होइन,

बदल्न पनि हो ।


हरेक मोड

एउटा पाठशाला बन्छ,

जहाँ जिन्दगीले सिकाउँछ—

सम्झौता र संघर्षबीचको फरक,

र हामी रोज्न थाल्छौं

संघर्षको बाटो।


यो बाटो सजिलो छैन,

यहाँ काँडा छन्,

यहाँ अँध्यारा छन्,

तर यहीँ कतै

उज्यालो जन्मिन्छ

जब हातहरू एकअर्कासँग जोडिन्छन्,

जब आवाजहरू एकै सुरमा उठ्छन्।


हामी बुझ्न थाल्छौं

व्यक्तिगत पीडा मात्र होइन,

सामूहिक पीडाको अर्थ,

र त्यहीँबाट जन्मिन्छ

क्रान्तिको बीउ।


जिन्दगी

जब फेरि नयाँ दिशातिर अघि बढ्छ,

त्यो दिशा

केवल व्यक्तिगत सपनाको होइन,

त्यो त सामूहिक मुक्तिको हुन्छ।


हामी अब

अलि–अलि होइन,

धेरै बदलिएका हुन्छौं—

हाम्रो सोचमा,

हाम्रो दृष्टिमा,

हाम्रो आवाजमा।


हामी प्रश्न गर्छौं—

किन विभाजन?

किन शोषण?

किन असमानता?


र हामी उत्तर खोज्दैनौं मात्र,

हामी उत्तर बनाउँछौं—

हाम्रो कर्मबाट,

हाम्रो एकताबाट,

हाम्रो विद्रोहबाट।


अब जिन्दगी

केवल बाँच्ने कथा होइन,

यो त परिवर्तनको आन्दोलन हो,

जहाँ हरेक मोड

एउटा नयाँ सुरुवात बन्छ।


टुटेका सपना

अब फेरि जोडिन्छन्,

तर उही पुरानो आकारमा होइन—

नयाँ स्वरूपमा,

नयाँ चेतनामा,

नयाँ साहसमा।


हामी अगाडि बढ्छौं

त्यो दिशातिर

जहाँ न्याय केवल शब्द होइन,

यथार्थ हुन्छ;

जहाँ समानता केवल नारा होइन,

जीवन बन्छ।


र त्यस दिन

जिन्दगी सिधा रेखाजस्तो नभए पनि,

त्यो मोडहरूबाट भरिएको यात्रा

गर्वको --

कथा बन्नेछ l

जहाँ हामी

हरेक मोडमा

अलि–अलि बदलिँदै होइन,

पूर्ण रूपमा जाग्दै

नयाँ संसार निर्माण गरिरहेका हुनेछौं।

भद्रपुर, सुकृतिनगर