बाजुरा— बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बुढी नन्दा नगरपालिकाको कोल्टीमा न्यायिक समितिको प्रथम जिल्ला सम्मेलन सुरु भएको छ । एक औंपचारीक कार्यक्रमका बिच सम्मेलनको आइतबार उद्घाटन गरिएको हो ।
समन्वय प्रमुख तुलसीराम रोकायाले सम्मेलनको उद्घाटन गरेका हुन् । बुढी नन्दा नगरपालिकाका उपप्रमुख तथा सम्मेलन अध्यक्ष राम बहादुर बोहोराको अध्यक्षतामा सम्मेलन कार्यक्रम सञ्चालन गरिएको हो ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथि रहेका थिए । त्यस्तै विशिष्ट अतिथिका रूपमा समन्वय उप-प्रमुख लाछु सार्की रहेका थिए ।
सम्मेलनमा बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका प्रमुख, गाउँपालिका अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षहरू, न्यायिक समिति सदस्यहरू तथा छिमेकी जिल्ला अछाम र कर्णाली प्रदेशअन्तर्गत मुगु, कालिकोट र हुम्लाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
बाजुरा जिल्लामा न्याय प्रणालीलाई अझ सुदृढ र प्रभावकारी बनाउन सम्मेलन आयोजना गरिएको सम्मेलन अध्यक्ष नगर उप—प्रमुख राम बहादुर वोहराले जानकारी दिए । जिल्लाभरका स्थानीय तहका न्यायिक समितिहरूलाई एउटै मञ्चमा ल्याएर अनुभव आदान–प्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको उनले बताएका छन् ।
स्थानीय तहमा न्यायिक समितिको भूमिकालाई अझ प्रभावकारी बनाउन सम्मेलन महत्त्वपूर्ण हुने उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका थिए।प्रमुख अतिथि रोकायाले न्यायिक समितिहरूलाई अझ सशक्त बनाउँदै जनताको न्यायमा पहुँच सहज बनाउन सबै तहबिच समन्वय आवश्यक रहेको बताएका थिए । भोलीसम्म चल्ने सम्मेलनमा न्यायिक समितिको कार्य प्रणाली, चुनौती र समाधानका उपायहरूबारे छलफल गरिनुका साथै विभिन्न कार्यपत्र प्रस्तुत गरिने छ ।






































