बिर्तामोड— क्रियाशील सदस्यता अद्यावधिक गर्दै राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउने उद्देश्यसहित नेपाली कांग्रेसले सुरु गरेको “जरा अभियान” अन्तर्गत झापामा क्षेत्रस्तरीय प्रविधिमैत्री अभिमुखीकरण कार्यक्रम तीव्र रूपमा सञ्चालन भइरहेको छ।
झापाका पाँच क्षेत्रमध्ये हालसम्म क्षेत्र नं–१, २, ३ र ४ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ भने क्षेत्र नं–५ मा सोमबार कार्यक्रम आयोजना गरिने तयारी गरिएको छ।
क्षेत्र नं–१ मा केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वास्तविक क्रियाशील सदस्यहरूको पहिचान र अद्यावधिक आवश्यक रहेको बताए। उनले वडा तहबाटै अभियान सञ्चालन गरिएको जानकारी दिए। कार्यक्रम क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो।
यस्तै, क्षेत्र नं–२ मा केन्द्रीय प्रतिनिधि रुद्रबहादुर कन्दङवाको प्रमुख आतिथ्यमा अभिमुखीकरण सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै उनले पार्टी र राष्ट्रलाई सुदृढ बनाउन जरा अभियान सुरु गरिएको स्पष्ट पारे। क्षेत्र नं–२ मा बैशाख १९ गतेदेखि २५ गतेसम्म वडा–वडामा डिजिटल माध्यमबाट सदस्यता अद्यावधिक गरिने कार्ययोजना बनाइएको छ।
क्षेत्र नं–३ मा पनि केन्द्रीय प्रतिनिधि कन्दङवाकै प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ। प्राविधिक विषयमा अमृत बास्तोलाले सहजीकरण गरेका थिए। उक्त क्षेत्रमा बैशाख १७ गतेदेखि सदस्यता अद्यावधिक कार्य सुरु गरिने जनाइएको छ।
त्यसैगरी क्षेत्र नं–४ मा केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईको प्रमुख आतिथ्यमा अभिमुखीकरण सम्पन्न भएको हो। प्राविधिक प्रशिक्षणपछि बैशाख १७ गतेदेखि सदस्यता नवीकरण प्रक्रिया सुरु गरिने तयारी गरिएको क्षेत्रीय नेतृत्वले जनाएको छ।
पार्टीको १५औं महाधिवेशनको पूर्वतयारीस्वरूप क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिएको हो। यसअघि नै केन्द्रीय समितिले वडादेखि केन्द्रसम्मका अधिवेशनहरूको कार्यतालिका सार्वजनिक गरिसकेको छ। तय कार्यतालिका अनुसार वडा अधिवेशन भदौ २ गतेदेखि सुरु भई केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म सम्पन्न गरिनेछ।






































