बिर्तामोड— नेपाली कांग्रेसको जरा अभियान अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक अभिमुखीकरण कार्यक्रम झापा क्षेत्र नं–५ को दमकमा सम्पन्न भएको छ। केन्द्रीय समितिको आह्वानमा गत बैशाख १ गतेदेखि सुरु भएको एकमहिने अभियान अन्तर्गत झापाका पाँचवटै क्षेत्रमा क्षेत्रस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका छन्।

राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउने उद्देश्यसहित सुरु गरिएको अभियान अब वडा तहमा केन्द्रित हुने भएको छ। १५ औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता नवीकरण तथा नयाँ आवेदन प्रक्रिया पूरा गरिसकेका र नगरेका सबैलाई समेट्दै वडा तहबाटै सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिने जनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै झापाका लागि जरा अभियानका केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईले पार्टीको विशेष महाधिवेशनको निर्णयअनुसार अभियान सुरु गरिएको जानकारी दिए। उनले योगदानका आधारमा सबैलाई समान अवसर दिने नीति अवलम्बन गरिएको उल्लेख गर्दै संगठन सुदृढीकरणको आधार वडा तह भएकाले त्यहीँबाट अभियान अघि बढाइएको बताए। साथै, क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक मात्र गरिने स्पष्ट पार्दै सबै सदस्यलाई आफ्नो सदस्यता नवीकरण गर्न आग्रह गरे।

विशेष अतिथि तथा केन्द्रीय प्रतिनिधि रुद्रबहादुर कन्दङ्वाले पार्टीलाई एकढिक्का बनाउन जरा अभियान प्रभावकारी हुने धारणा व्यक्त गरे। त्यस्तै, जिल्ला सभापति देउकुमार थेवेले अभियान सफल बनाउन सबै तहका संगठनहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै निर्धारित समयभित्र सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न निर्देशन दिए।

नेपाली कांग्रेस क्षेत्र नं–५ का सभापति ढुण्डिराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य हिमाल कर्माचार्य, संविधानसभा सदस्य विश्वदिप लिङदेन, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, मन्धरा चिमरिया पौडेल, राजनबहादुर ढुङ्गाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा वडाका सभापतिहरूले विभिन्न जिज्ञासा राखेका थिए भने नेपाल तरुण दलका केन्द्रीय सदस्य सजेश शिवाकोटी र अमृत बास्तोलाले डिजिटल प्रविधिबाट सदस्यता अद्यावधिक गर्ने प्रक्रियाबारे प्राविधिक प्रशिक्षण दिएका थिए। कार्यक्रमको स्वागत क्षेत्रीय उपसभापति रवि केसीले गरेका थिए भने सञ्चालन क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले गरेका थिए।