बिर्तामोड— उद्यमी शेखर गोल्छाको पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ। अब इजलासबाट आदेश आउने प्रतीक्षा गरिएको छ।
गोल्छालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सिमा गोल्छाले सोमबार रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि न्यायाधीश नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भएको हो। सुनुवाइ प्रक्रिया सकिएकाले आजै आदेश जारी हुन सक्ने सम्भावना रहेको छ।
यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत बिहीबार गोल्छालाई पक्राउ गरेको थियो। पक्राउपछि अनुसन्धानका लागि थप समय आवश्यक रहेको भन्दै सोमबार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरिएको छ।
प्रकरणसँग सम्बन्धित कानुनी बहसपछि अब सर्वोच्चको आदेशले गोल्छाको हिरासत अवस्था र अनुसन्धान प्रक्रियाबारे स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।






































