बिर्तामोड— झापाको बिर्तामोडमा आयोजित एक महत्वपूर्ण भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बसन्त भट्टराईले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई समयमै सम्पन्न गर्न सबै तहका नेतृत्वलाई स्पष्ट निर्देशन दिएका छन्। उनले वडा, गाउँरनगर, प्रदेशसभा क्षेत्र र क्षेत्रीय समितिहरूको सक्रिय भूमिका बिना अभियान सफल नहुने उल्लेख गरे।

गत बैशाख १ गतेबाट सुरु भएको ‘जरा अभियान’ अब वडास्तरसम्म पुगेको छ। यही सन्दर्भमा भट्टराईले कार्यसम्पादनमा ढिलाइ नगर्न आग्रह गर्दै संगठनलाई जरा तहबाटै सुदृढ बनाउने उद्देश्यमा जोड दिए।

अभियानमा संलग्न अर्का केन्द्रीय प्रतिनिधि रुद्रबहादुर कन्दङ्वाले सदस्यता अद्यावधिकपछि प्रत्येक सदस्यको गतिविधि र विचारप्रतिको प्रतिबद्धता डिजिटल प्रणालीमार्फत निगरानी गर्न सहज हुने बताए। उनले आधुनिक प्रविधिको प्रयोगले पार्टी संगठनलाई अझ व्यवस्थित बनाउने धारणा राखे।

जिल्ला सभापति देउकुमार थेवेले वडामा खटिएका प्रतिनिधिहरूलाई स्थानीय तहमा प्रभावकारी समन्वय र अनुगमन गर्न निर्देशन दिए। उनले सबै तहका समितिहरूसँग सहकार्य गरेर अभियानलाई सफल बनाउन आह्वान गरे।

कार्यक्रममा डिजिटल प्रविधिको प्रयोगबारे जानकारी दिँदै सजेश शिवाकोटी र अमृत बास्तोलाले अहिलेको समय ‘डिजिटल प्रचारको युग’ भएको उल्लेख गरे। उनीहरूले सामाजिक सञ्जाल विवरण अनिवार्य राख्दै सदस्यता प्रणालीलाई  व्यवस्थित बनाउने योजना प्रस्तुत गरे।

कांग्रेसले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संघीयतालाई थप मजबुत बनाउने लक्ष्यसहित यो अभियान सञ्चालन गरिरहेको छ। १५ औं महाधिवेशनलाई लक्षित गर्दै वडा तहबाटै सदस्यता अद्यावधिकलाई तीव्र बनाइएको छ।

यसैबीच, पार्टीले वडादेखि केन्द्रसम्मको महाधिवेशन तालिका पनि सार्वजनिक गरिसकेको छ, जसअनुसार भाद्रदेखि असोजसम्म विभिन्न तहका अधिवेशनहरू सम्पन्न हुनेछन्।