काठमाडौं— नेकपा एमालेकी युवा नेत्रृ सरिता सापकोटा (यामकुमारी)ले पार्टी परित्याग गरेकी छन्। एमाले निकट अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सापकोटाले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको पत्रमार्फत पार्टी छाडेको जानकारी दिएकी छन्। उनले राजीनामा पत्रमा ‘वर्तमान राजनीतिक परिवेश, वैचारिक धारणा तथा व्यक्तिगत निर्णायक आधारमा अब उप्रान्त पार्टीमा निरन्तर रहिरहन उपयुक्त नलागेकाले’ परित्याग गरेको बताएकी छन्।

एमाले जिल्ला कमिटी बाराकी सदस्य समेत रहेकी उनले १५ वर्षदेखि एमालेमार्फत देश र जनताको सेवा गरेको र सो अभियानमा साथ दिने सबैप्रति आभार प्रकट गरेकी छन्। सरिताले एमाले छाडेसँगै एमाले नेत्रृहरूले नेतृत्वमाथि प्रश्न गर्न थालेका छन्। एमाले नेत्रृ नविना लामाले पार्टी रूपान्तरण र नेतृत्व हस्तान्तरणमा प्रश्न गरेकी छन्। लामाले नयाँ पुस्तालाई विचार, अवसर र जिम्मेवारीसहित कसरी अगाडि ल्याउन नसकिएको बताएकी छन्। यता सरिताले भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको परिचयपत्र समेत सार्वजनिक गरेकी छन् ।