गुल्मी— नेपाली कांग्रेसबाट निर्वाचित गुल्मीका दुई वडाध्यक्षले दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको छ।
निर्वाचन आयोगका अनुसार मुसिकोट नगरपालिका–२ का वडा अध्यक्ष रविन्द्र के।सी। र धुर्कोट गाउँपालिका–३ का वडा अध्यक्ष पदमबहादुर बिष्टले दल त्यागेपछि कानुनी व्यवस्थाअनुसार पद स्वतः रिक्त भएको हो।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले निर्वाचित जनप्रतिनिधिले अर्को दल रोजेमा पद कायम नरहने व्यवस्था गरेको छ। सोही आधारमा आयोगले जेठ १४ गते सूचना प्रकाशित गर्दै पद रिक्त भएको जानकारी दिएको हो।






































