देबेन्द्र किशोर:  भारतको राजनीति अहिले एउटा नयाँ र असामान्य तरङ्गबाट गुज्रिरहेको छ। १६ मे २०२६ मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तको एउटा टिप्पणीलाई लिएर सुरु भएको 'कोक्रोज जनता पार्टी' नामक व्यंग्यात्मक अनलाइन आन्दोलनले केही दिनमै देशभरका बेरोजगार र निराश युवाहरुको आवाज बनेको छ। यो आन्दोलन न कुनै दर्ता गरिएको पार्टी हो, न कुनै परम्परागत संगठन नै हो । तर यसको प्रभावले सत्तारुढ भाजपादेखि विपक्षी कांग्रेससम्म सबैलाई झस्काएको छ। 

१. कोक्रोज जनता पार्टीको जन्म र सन्दर्भ:-

यो आन्दोलनको पृष्ठभूमि भारतको चर्किँदो बेरोजगारी संकट हो। प्रधानन्यायाधीशले एउटा सुनुवाइका क्रममा नक्कली डिग्री प्रयोग गर्ने युवाहरुलाई 'काक्रो ज र परजीवी' भनेपछि सामाजिक सञ्जालमा ठूलो आक्रोश फैलियो। पछि उनले आफ्नो भनाइ नक्कली योग्यताधारीबारे मात्र भएको स्पष्ट पारे पनि, त्यतिबेलासम्म ढिला भइसकेको थियो। 

राजनीतिक रणनीतिकार अभिजित दीपकेले यही मौकामा 'कोक्रोज जनता पार्टी' नामक व्यंग्यात्मक  फोरम खडा गरे। यसको नारा थियो – 'अल्छी, बेरोजगार र बिर्सिएका नागरिकहरुको सबैभन्दा इमानदार पार्टी।' सदस्यता मापदण्ड नै 'क्रोनिकली अनलाइन, बेरोजगार, कम तलब, थकित' राखियो। व्यंग्यलाई पहिचानमा बदल्ने यो रणनीतिले युवाहरुको मन छोयो। 

२. युवाको आकर्षण र माग

कोक्रोज जनता पार्टीको इन्स्टाग्राम अकाउन्टले केही दिनमै १९-२० मिलियन फलोअर्स नाघ्यो, जसले भाजपाको आधिकारिक पेजलाई पनि पछि पार्यो। रोयटर्सका अनुसार यसका ७०% समर्थक १९-२५ वर्ष उमेर समूहका छन्। 

यसको आकर्षणको मुख्य कारण तीनवटा छन्:-

*पहिलो, बेरोजगारीको यथार्थ।* भारत विश्वको सबैभन्दा छिटो बढ्ने अर्थतन्त्र भए पनि वार्षिक लाखौं स्नातकहरुका लागि रोजगारी सिर्जना गर्न सकिरहेको छैन। अजीम प्रेमजी विश्वविद्यालयका अनुसार १५-२५ वर्षका स्नातकहरुमा बेरोजगारी दर झण्डै ४०% छ। नीट , अन्य परीक्षा लीक र भर्ना ढिलाइले युवाहरुको भरोसा टुटेको छ। 

*दोस्रो, भाषा र शैली।* परम्परागत पार्टीहरुको गम्भीर र प्रचारमुखी भाषणको तुलनामा कोक्रोजले मेम, व्यंग्य र “सेकुलर – सोसलिस्ट – डेमोक्रेटिक – लेजी जस्तो आत्म-व्यंग्य प्रयोग गर्यो। यसले युवालाई “हाम्रो कुरा बुझ्ने कोही छ भन्ने महसुस गरायो। 

*तेस्रो, संस्थागत अविश्वास।*  भिआइपि संस्कृति, राजमार्ग बन्द गरेर काफिला गुजार्ने प्रवृत्ति र ५० डिग्री गर्मीमा पनि सर्वसाधारणलाई रोक्नु जस्ता घटनाले असमानताप्रति आक्रोश बढाएको छ। कोक्रोजले यही आक्रोशलाई 'हामी काक्रोज हौं, किनभने प्रणाली फोहोर भएको छ' भन्दै राजनीतिक  समूह बनाएको छ। 

३. राष्ट्रिय पार्टीहरुलाई परेको धक्का

यो आन्दोलनले भारतीय राजनीतिमा दुईवटा स्पष्ट धक्का दिएको छ।

*एक, सत्तारुढ दलको युवासम्बन्धी विम्बमा चोट।* भाजपाले लामो समयदेखि 'युवा र विकास' को नारा बोक्दै आएको छ। तर कोक्रोजको उदयले देखायो  युवाको ठूलो हिस्सा अहिले पनि निराश छ र त्यो निराशा मेममार्फत सडकमा आउन सक्छ। कुनै वरिष्ठ भाजपा नेताले औपचारिक प्रतिक्रिया नदिए पनि, समर्थकहरुले दीपकेलाई व्यक्तिगत रुपमा निशाना बनाउन थालेका छन्। 

*दुई, विपक्षीका लागि अवसर र चुनौती।* राहुल गान्धी, शशि थरूर, अखिलेश यादव, महबुबा मुफ्ती जस्ता नेताहरुले यो आन्दोलनलाई युवाको ऊर्जा र परिवर्तनको संकेत भनेका छन्। थरूरले यसलाई “विपक्षीले चिन्नुपर्ने अवसर” भनेका छन्। तर चुनौती के छ भने, यो ऊर्जा संस्थागत राजनीतिमा कसरी रूपान्तरण गर्ने? अहिले नै कोक्रोज कुनै चुनाव लड्ने योजनामा छैन र यसलाई आधिकारिक पार्टी बनाउने सवालमा पनि स्पष्टता छैन। 

४. दक्षिण एशियाको राजनीतिका लागि सन्देश

नेपाल, बंगलादेश, श्रीलंका जस्ता देशमा पनि युवा बेरोजगारी, परीक्षा प्रणालीको अस्थिरता र राजनीतिक निराशा उस्तै छन्। कोक्रोज आन्दोलनले देखायो - डिजिटल पुस्ता अब परम्परागत पार्टीको झण्डा बोकेर मात्र हिँड्दैन। उनीहरु व्यंग्य, मेम र सामाजिक सञ्जाललाई राजनीतिक हतियार बनाउन् चाहन्छन ।

दक्षिण एशियामा यो प्रवृत्तिले तीनवटा सम्भावना देखाउँछ:

*पहिलो, नयाँ राजनीतिक भाषाको उदय।* युवा मतदाता अब 'सिद्धान्त' भन्दा 'डेलिभरी' माग्छन्। कोक्रोजले जस्तै, आफ्नो दैनिक जीवनको पीडालाई हाँस्यमा बदल्न सक्ने आन्दोलनले छिटो प्रभाव पार्छ।

*दोस्रो, परम्परागत पार्टीहरुको संगठनात्मक पुनर्संरचना। संगठन नभएको पार्टी टिक्दैन। तर अब संगठन भनेको केवल जिल्ला कमिटी होइन, डिजिटल सेल, कन्टेन्ट क्रिएटर र तत्काल प्रतिक्रिया दिने संयन्त्र पनि हो।

*तेस्रो, क्षेत्रीय अस्थिरताको जोखिम।* युवा आक्रोशलाई यदि रचनात्मक दिशामा नलगे, त्यो अराजकता र ध्रुवीकरणमा परिणत हुन सक्छ। भारतमा जस्तै नेपालमा पनि २०२५ को जेन जी आन्दोलनले त्यही संकेत दिएको थियो।

५. निष्कर्ष: व्यंग्यभन्दा बाहिर जाने क्षमता छ कि छैन?

कोक्रोज जनता पार्टी अहिले एउटा “मुड” हो, आन्दोलन हो, पार्टी होइन। यसको भविष्य यसमा भर पर्छ वा यसले युवाको आक्रोशलाई नीति, संगठन र चुनावी रणनीतिमा बदल्न सक्छ वा सक्दैन। यदि सक्यो भने यो २०२९ को चुनावसम्मको एउटा गम्भीर शक्ति बन्न सक्छ। नसकेमा यो अर्को भाइरल ट्रेन्ड बनेर सेलाउँछ। 

नेपालजस्तो रणनीतिक महत्वको देशका लागि यो आन्दोलन एउटा चेतावनी पनि हो। छिमेकी भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्दै राष्ट्रिय विकासको मार्गचित्र बनाउनु अहिलेको आवश्यकता हो। तर त्यो मार्गचित्र कोर्ने नेतृत्व यदि युवाको भाषा, आक्रोश र आशालाई बुझ्न सकेन भने, भोलि नेपालमा पनि 'कोक्रोज' जस्तै आन्दोलन जन्मिन समय लाग्दैन।

राजनीतिको मेरुदण्ड संगठन हो । नयाँ दिशा र कार्यक्रम बिना, कुनै पनि आन्दोलन दीर्घकालीन बन्न सक्दैन। अहिले भारतमा त्यही परीक्षण भइरहेको छ।