उर्लाबारी— धिमाल समुदायको प्रमुख सांस्कृतिक पर्व जात्रि (सिरिजात) को समापनका अवसरमा मोरङ र झापाका पाँच स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका छन्। झापाको दमक नगरपालिका तथा मोरङको उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले स्थानीय बिदा घोषणा गरेका हुन्।
धिमाल समुदायले वैशाख २ गते लेटाङ–१ स्थित राजारानीको धिमालडाँडा ग्रामथानबाट सुरु गर्ने जात्रि पर्व असार २ गते समापन गर्ने परम्परा छ। झापा, मोरङ र सुनसरीका १०४ ग्रामथानमा दुई महिनासम्म सामूहिक पूजा–आराधना गरिने यस पर्वको समापन कार्यक्रम हरेक वर्ष उर्लाबारी–३ स्थित दशबिघा मैदानमा आयोजना हुँदै आएको छ। धिमाल जातीय विकास केन्द्रले भने यस अवसरमा कोशी प्रदेशभर सार्वजनिक बिदा दिनुपर्ने माग दोहोर्याउँदै आएको छ।






































