काठमाडौं ।नेपालमा यस वर्ष मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ। सामान्यतया जुन १३ मा नेपाल प्रवेश गर्ने मनसुन हालसम्म नआएको भन्दै जल तथा मौसम विज्ञान विभागले ढिलाइ हुने संकेत गरेको छ। विभागका अनुसार भू–उपग्रह तथ्यांक र मौसम पूर्वानुमानको विश्लेषणले मनसुन आगमन केही दिन पर धकेलिएको देखाएको छ।
मौसमविदका अनुसार यसको मुख्य कारण एलनिनो प्रभाव हो। प्रशान्त महासागर क्षेत्रमा विकसित एलनिनो क्रमशः बलियो बन्दै गएकाले दक्षिण एसियाली मनसुनी प्रणाली प्रभावित भएको बताइएको छ। हाल देशका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा स्थानीय र पश्चिमी वायुका कारण मेघगर्जनसहित वर्षा भइरहे पनि पूर्ण मनसुनी प्रणाली भने सक्रिय हुन सकेको छैन।
मौसम विभागले विगतमा पनि एलनिनो सक्रिय भएका वर्षहरूमा मनसुन ढिलो भित्रिएको स्मरण गराएको छ। सन् २०२३ सहित विभिन्न वर्षमा मनसुन सरदर मितिभन्दा धेरै दिनपछि नेपाल आएको तथ्यांक रहेको छ। मनसुन ढिलो हुँदा सबैभन्दा बढी असर कृषि क्षेत्रमा पर्ने भएकाले किसानहरू चिन्तित बन्न थालेका छन्। रोपाइँको समय नजिकिँदै जाँदा पर्याप्त वर्षा नहुँदा खेतीपाती प्रभावित हुने जोखिम बढेको छ।
मौसमविद्हरूले भने नागरिकलाई अफवाहभन्दा आधिकारिक मौसम बुलेटिनमा विश्वास गर्न आग्रह गरेका छन्।






































