म्याग्दी। जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ शिखको मूलपानीमा ‘एक घर, एक धारा’ भन्ने नारासहित शिख खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको आयोजनाबाट शिखको मुलपानी टोलका ३५ परिवार लाभान्वित भएका छन् ।
हिलेदह मूलको पानीलाई दुई हजार ४३८ दशमलव ९० मिटर लामो पाइपबाट ल्याएर मूलपानी टोलमा रहेका सबै घर र शिख माविमा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर पाईजाले बताउनुभयो ।
उपभोक्ता अनमिका शेर्पुजाले घरका धारामा नियमित सफा र शुद्ध खानेपानी उपलब्ध भएपछि समयको बचत हुनुका साथै झञ्जट हटेको र दूषित पानीका कारण हुने स्वास्थ्य समस्या न्यूनीकरणमा सहयोग पुगेको बताउनुभयो । यसअघि यहाँका बासिन्दाले उपभोग गर्दै आएको सार्वजनिक खानेपानीका धाराका संरचना जीर्ण हुँदा खानेपानीको समस्या भएको थियो ।
गोर्खा वेल्फेयर ट्रष्टको रु २० लाख ९७ हजार २८ हजारसहित निर्माण सामग्री र उपभोक्ताको रु चार लाख ९५ हजार ७०० बराबरको श्रमदानबाट योजना निर्माण भएको अध्यक्ष पाइजाले जानकारी दिनुभयो । उहाँका अनुसार एक÷एक वटा इन्टेक, कलेक्सन च्याम्बर, रिजर्भ ट्याङ्की, पाइप क्रसिङ रहेको योजनामा ३५ वटा निजी, दुई वटा सामुदायिक धारा रहेका छन् । शिख देउराली र तल्लो शिखमा गण्डकी प्रदेश सरकारमार्फत एक घर, एक धारासहितको दुई वटा खानेपानी आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् ।






































