एजेन्सी। युरोपका विभिन्न देश अहिले भीषण ‘हिटवेभ’को चपेटामा परेका छन्। फ्रान्समा अत्यधिक गर्मीका कारण तीन ज्येष्ठ नागरिकको मृत्यु भएको छ भने ४९ प्रशासनिक क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि सयौं विद्यालय बन्द गरिएका छन्।
बेल्जियम, बेलायत र स्पेनमा समेत गर्मीले नयाँ रेकर्ड बनाउन सक्ने चेतावनी दिइएको छ। स्पेनका केही क्षेत्रमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। गर्मीकै कारण रेल सेवा प्रभावित भएका छन् भने सार्वजनिक कार्यक्रमसमेत रद्द हुन थालेका छन्।
विशेषज्ञहरूले मानव गतिविधिबाट बढिरहेको जलवायु परिवर्तनलाई यस्तो चरम गर्मीको मुख्य कारण बताएका छन्। युरोपले सन् २००३ पछिकै सबैभन्दा खतरनाक गर्मीको सामना गरिरहेको चेतावनी दिइएको छ।






































