सिरहा। सिरहाको औरही गाउँपालिका–५ स्थित गागन खोलाको निर्माणाधीन पुल छेउको सडक भासिएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ।
स्थानीयले पुल निर्माणका क्रममा गरिएको जथाभावी माटो उत्खनन र वर्षाको कटानलाई सडक भासिनुको मुख्य कारण बताएका छन्। बाहिरबाट सडक सामान्य देखिए पनि भित्री भाग खोक्रो भइसकेकाले ठूलो दुर्घटनाको जोखिम बढेको स्थानीयको चेतावनी छ।
सडक अवरुद्ध भएपछि सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ। हुलाकी सडक निर्देशनालयले निर्माण कम्पनीलाई तत्काल मर्मत गर्न निर्देशन दिएको जनाएको छ।
८ करोड ६७ लाख रुपैयाँ लागतमा निर्माणाधीन गागन पुल २०८४ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ। तर सडक भासिएपछि यात्रुहरू लामो दूरीको घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएका छन्।






































