झापा । विपद्, दुर्घटना वा अन्य असहज परिस्थितिमा व्यवसायी समुदायलाई साथ दिने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष’मा सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको छ । यसैक्रममा नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) झापा च्याप्टरले रु एक लाख १६ हजार ६६६ सहयोग प्रदान गरेको छ ।
एनवाईइएफ झापा च्याप्टरको शाखा कार्यालय उद्घाटन समारोहपछि आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष गणेश पौडेलले उक्त रकमको चेक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई हस्तान्तरण गरेका थिए । सहयोग रकम हस्तान्तरणसँगै व्यवसायीबीच आपसी सहकार्य, सद्भाव र संकटका बेला एकअर्काको सहारा बन्ने संस्कृतिलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
एक करोड रुपैयाँको लक्ष्यसहित २०८१ सालमा स्थापना गरिएको राहत कोषले व्यवसायी समुदायमा भरोसाको आधार निर्माण गरिरहेको छ । व्यापार–व्यवसायमा आइपर्ने आकस्मिक संकटका बेला सदस्यलाई राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुटिरहेको छ ।
संघका महासचिव कुशल खतिवडाका अनुसार हालसम्म कोषमा करिब रु ४० लाख संकलन भइसकेको छ । उनका अनुसार हालसम्म सबैभन्दा बढी रकम सहयोग गर्ने संस्थाका रूपमा एनवाईइएफ झापा च्याप्टर रहेको छ । युवा उद्यमीहरूको यो योगदानले अन्य व्यवसायिक तथा सामाजिक संस्थालाई समेत प्रेरित गरेको उनको भनाई छ ।
कार्यक्रममा एनवाईइएफ झापाका संस्थापक अध्यक्ष प्रवेश वस्नेतसहित बोर्ड सदस्यहरूको उपस्थिति रहेको थियो । साथै, उद्योग वाणिज्य क्षेत्रका अग्रणी व्यक्तित्व तथा संघका विशिष्ट सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य निर्मल भट्टराईको समेत सहभागिता रहेको थियो । सहयोग प्रदान गर्ने दाताहरूलाई संघले कदरपत्र प्रदान गरी सम्मान गरेको थियो । सम्मान कार्यक्रमले सहयोगको संस्कृतिलाई संस्थागत गर्दै सामाजिक उत्तरदायित्वप्रति व्यवसायी समुदायको प्रतिबद्धता झल्काएको सहभागीहरूको भनाइ थियो ।
संघका अध्यक्ष राजु न्यौपानेले राहत कोषको दिगोपनाका लागि विभिन्न क्षेत्रबाट प्राप्त भइरहेको साथ र सहयोगप्रति आभार व्यक्त गरे । उनले संकटका घडीमा व्यवसायीलाई एक्लो महसुस हुन नदिन स्थापना गरिएको कोषलाई सामूहिक अभियानका रूपमा अघि बढाइने बताए । “व्यवसाय केवल नाफा–नोक्सानको विषय मात्र होइन, सुख–दुःखमा एकअर्काको साथ र भरोसाको सम्बन्ध पनि हो,” अध्यक्ष न्यौपानेले ने “युवा उद्यमीहरूले देखाएको यो सहयोगी भावना सम्पूर्ण व्यवसायिक समुदायका लागि अनुकरणीय बनेको छ ।”
राहत कोषलाई आगामी दिनमा लक्ष्यअनुसार एक करोड रुपैयाँ पु¥याउने अभियानलाई थप तीव्र बनाइने संघले जनाएको छ ।व्यवसायीहरूबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना सुदृढ बन्दै जाँदा यस्तो कोषले संकटका बेला आशाको आधार बन्ने विश्वास गरिएको छ ।




































