मोरङ । नेपाली कांग्रेसका नेता अभिषेक गिरीको विराटनगर-८, मधुमारास्थित निवासमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले छापा मारेको छ।
घरमा शङ्कास्पद वस्तु रहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिएका छन। विशेष सूचनाको आधारमा प्रहरीले गिरीको घरभित्र खानतलासी गरिरहेको छ। घर अगाडि पार्किङ गरी राखिएका र नेता गिरीले नै प्रयोग गर्दै आएका सेतो र कालो रङका दुईवटा कारको पनि प्रहरीले खानतलासी गरेको छ।
मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी महेन्द्रकुमार मिश्रका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । विशेष सूचनाका आधारमा खानतलासी गर्न गएको टोलीले आवश्यक अनुसन्धानका लागि गिरीलाई पक्राउ गरेको डीएसपी मिश्रले बताएका छन ।
प्रहरीले खानतलासीका क्रममा के–कस्ता सामग्री बरामद भए भन्नेबारे भने हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। अभिषेक गिरी यसअघि अपहरण मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।





































