काठमाडौं । नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने तयारी गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ भने संस्थापक सेयरधनीतर्फ पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने विषयमा छलफल भइरहेको जनाएको छ । आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले साउन १ गते विशेष साधारण सभा बोलाएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा हुने कम्पनीले जनाएको छ । सभाबाट आईपीओसम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा समेत रहेको छ ।यसअघि गत असोज २ गते सम्पन्न वार्षिक साधारण सभाले आईपीओ सम्बन्धी प्रस्ताव पारित गरिसकेको थियो ।
कम्पनीले आवश्यक प्रक्रिया अघि बढाउँदै क्रेडिट रेटिङसमेत गराइसकेको छ, जसअनुसार केयर रेटिङ नेपालले कम्पनीलाई मध्यम स्तरको सुरक्षित मानिने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ र जारी पूँजी ७५ करोड रुपैयाँ रहेको छ । संस्थापकतर्फ ६० करोड रुपैयाँ चुक्ता पूँजी कायम भएको कम्पनीले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने तयारी गरेको छ । ४९ वर्षको इतिहास बोकेको बाजेको सेकुवा एयरपोर्ट क्षेत्रको सिनामंगलबाट सुरु भएको हो ।
हाल कम्पनीले नेपाल तथा विदेशमा गरी २९ वटा शाखा सञ्चालन गरिरहेको छ । परम्परागत नेपाली खाना र सेकुवा परिकारका लागि परिचित यस ब्रान्डले २०० भन्दा बढी मेनु परिकार ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । यो कम्पनी २०६६ साल कात्तिक २३ गते प्राइभेट लिमिटेड कम्पनीका रूपमा दर्ता भएको थियो भने २०८२ असार २५ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो ।आर्थिक रूपमा समेत कम्पनीले पछिल्ला वर्षहरूमा सुधार देखाएको छ । आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म कम्पनीको सञ्चालन आम्दानी करिब ३१ प्रतिशतले वृद्धि भई ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
आउटलेट विस्तार र ब्रान्ड विस्तारसँगै रेष्टुरेन्ट सेवाप्रतिको बढ्दो मागले आम्दानी वृद्धि भएको कम्पनीको दाबी छ ।





































