काठमाडौं । कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा परेपछि र जेनजी अभियन्ताको पक्राउको विरोधमा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले उचित पुनर्स्थापना नगरी सुकुम्बासीलाई जबर्जस्ती विस्थापित गरिएको आरोप लगाउँदै सरकारविरुद्ध नाराबाजी गरेका हुन्। उनीहरूले सुरक्षित आवासको सरकारी प्रतिबद्धता कार्यान्वयन गर्न र विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापन गर्न माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले जेनजी अभियन्तामाथिको पक्राउलाई गैरन्यायिक र नागरिक अधिकारविपरीत कदम भन्दै तत्काल रिहाइ र निष्पक्ष व्यवहारको मागसमेत गरेका छन्। मोर्चाले डुबान, विस्थापन र प्रहरी हस्तक्षेप का घटनाले सुकुम्बासीमाथि राज्यको व्यवहारप्रति गम्भीर प्रश्न उठाएको दाबी गर्दै समस्या समाधानका लागि संवाद र स्थायी पुनर्स्थापनाको बाटो अपनाउन सरकारसँग आग्रह गरेको छ।