काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविद्का अनुसार मनसुन प्रणाली सक्रिय भएकाले दिउँसोभन्दा रातिको समयमा वर्षा अझ तीव्र हुने अनुमान छ। विशेषगरी पहाडी भूभागसँगै केही तराई क्षेत्रमा पनि बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।
विभागले कोशी, बागमती, गण्डकी र मधेशका विभिन्न क्षेत्रमा सतर्कता संकेत जारी गर्दै नदी–खोला आसपास, पहिरो जोखिम भएका बस्ती र यात्रा गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
पूर्वानुमान अनुसार भोलिसम्म वर्षाको प्रभाव कायम रहने भए पनि पर्सिदेखि मनसुनी गतिविधि क्रमशः कमजोर हुँदै जाने अपेक्षा गरिएको छ। अहिलेका लागि भने रातिको मौसमलाई मध्यनजर गर्दै अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासनका सूचना पालना गर्न विभागले अनुरोध गरेको छ।






































