काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि भन्दै सरकारले घोषणा गरेको ‘ब्लु बस’ सेवा सुरु हुनुअघि नै अन्योलमा परेको छ। साउन १ गतेदेखि सेवा सञ्चालन गर्ने सरकारी घोषणा भए पनि बजेट, कार्यविधि र सम्झौता टुंगो नलाग्दा योजना तत्काल कार्यान्वयन नहुने देखिएको छ। सरकारले साझा यातायातमार्फत महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने घोषणा गरेको थियो। तर, साझा यातायातले आवश्यक तयारी पूरा नभएकाले साउन १ गतेदेखि सेवा सुरु हुने सम्भावना नरहेको स्पष्ट पारेको छ।

सामाजिक सञ्जालमा फैलिएको चर्चा विपरीत साझाका हरिया बसलाई निलो रंगले नपोतिने पनि कम्पनीले जनाएको छ। बसको पहिचानका लागि स्टिकर, लोगो वा अन्य दृश्यात्मक चिन्ह प्रयोग गर्ने तयारी भइरहेको साझा यातायातका अधिकारीहरूको भनाइ छ। यस्तै, सरकार र साझा यातायातबीच औपचारिक सम्झौता, सञ्चालन कार्यविधि र बजेटको सुनिश्चितता अझै बाँकी रहेकाले सेवा सुरु गर्ने मिति टुंगो लाग्न सकेको छैन। सरकारले पहिलो चरणमा आठ वटा विद्युतीय बस महिलाका लागि निःशुल्क सञ्चालन गर्ने योजना सार्वजनिक गरे पनि अहिले योजना घोषणामै सीमित हुने संकेत देखिएको छ।

महिलामैत्री सार्वजनिक यातायातको अवधारणालाई सकारात्मक रूपमा हेरिए पनि पर्याप्त तयारीबिनाको घोषणा अहिले चुनौती बनेको देखिन्छ। अब ‘ब्लु बस’ कहिले सडकमा गुड्छ भन्ने प्रश्नको उत्तर सरकारको तयारी र बजेट व्यवस्थापनमै निर्भर रहनेछ।