पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र १० को सिमाना पर्ने सेउलीबजार क्षेत्रमा मोदी खोलाले सडक कटान गरेपछि घान्द्रुक जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
स्थानीयका अनुसार खोलाको तीव्र कटानका कारण सडक बग्दा यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो। घटनामा स्थानीय दीपिल गुरुङको रेस्टुरेन्ट तथा घर पूर्ण रूपमा बगाएको छ भने जगन पुनको रेस्टुरेन्टमा समेत उल्लेखनीय क्षति पुगेको छ।
यसका साथै आसपासका अन्य घरहरू पनि उच्च जोखिममा रहेका छन्। निरन्तर कटान भइरहेकाले थप भौतिक क्षति हुन सक्ने भन्दै स्थानीयवासी त्रसित बनेका छन्।
प्रभावित क्षेत्रमा स्थानीयवासी तथा सम्बन्धित निकायले क्षतिको विवरण संकलन तथा जोखिम मूल्याङ्कन गरिरहेका छन्। वर्षा जारी रहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।






































