कञ्चनपुर— जिल्लाको बेलडाँडीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन्।
आइतबार बेलुकातिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रमा घाँस काट्ने क्रममा उपाध्यायमाथि बाघले अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथमा रहेका अन्य स्थानीयले होहल्ला गरेपछि बाघ उनलाई छाडेर भागेको बताइएको छ।
बाघको आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेकी घाइते उपाध्यायलाई तत्कालै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो। हाल उनको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको चहलपहल बढ्ने भएकाले जंगल जाँदा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।






































