कास्की। कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक जाने मार्गमा आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्याएको छ। मोदी खोलाको उर्लिएको भेलले दुई होटल बगाउनुका साथै सडक र पुलसमेत ध्वस्त बनाएको छ। सडक अवरुद्ध भएपछि पर्यटक र स्थानीय सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
आइतबार आएको आकस्मिक बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित घान्द्रुक सडकखण्डमा व्यापक क्षति पुर्याएको छ।
अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार उर्लिएको मोदी खोलाले स्थानीय दिलिप गुरुङ र जगन पुनका दुई होटल पूर्ण रूपमा बगाएको छ। घरविहीन बनेका दुवै परिवार अहिले छिमेकीको घरमा आश्रित छन्।
बाढीले घान्द्रुक जोड्ने मुख्य सडक कटान गरेपछि पर्यटक बोकेका सवारीसाधन दुवैतर्फ रोकिएका छन्। घान्द्रुक पुगेका गाडीसमेत फर्किन नसक्ने अवस्थामा पुगेका छन्। यति मात्रै होइन, अन्नपूर्ण आधार शिविर पदमार्गअन्तर्गत घान्द्रुक–छोमरोङ जोड्ने किम्रुङ खोलाको पुल पनि बाढीले बगाएको छ। स्थानीयका अनुसार माथिल्लो क्षेत्रमा पहिरो खसेर खोला थुनिएपछि एक्कासि आएको बाढी मोदी खोलामा मिसिँदा क्षति झन् बढेको हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको जानकारी दिए। उनका अनुसार घटनास्थलमा अहिले थप बाढीको जोखिम नदेखिएको र केही घण्टाभित्र सडक एकतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। घटनापछि प्रशासनले सडक खुलाउन डोजर परिचालन गरेको छ। मौसमले साथ दिए केही घण्टाभित्र एकतर्फी यातायात सञ्चालन गर्ने लक्ष्य प्रशासनको छ।
पर्यटनको मुख्य सिजन सुरु हुनुअघि आएको यो बाढीले घान्द्रुक क्षेत्रको पर्यटन र स्थानीय जनजीवन दुवैलाई ठूलो असर पुर्याएको छ। अहिले प्राथमिकता सडक खुलाउने र थप जोखिम हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
मनसुन सक्रिय भएसँगै हिमाली र पहाडी जिल्लामा बाढी तथा पहिरोको जोखिम बढ्दै गएको छ। मौसमविद्ले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् भने प्रशासनले अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।






































