काठमाडौं । अमेरिकी नागरिक तथा संस्कृतिविद् डा.आना एम सिस्टरद्वारा भानु जयन्तीमा नेपाली श्लोक वाचन सबैको ध्यान खिचेको छ । 

सोमबार काठमाडौँमा आयोजित विशेष समारोहमा बोल्दै डा।सिस्टरले २० वर्षअघि विद्यार्थीका रूपमा नेपाल आएको स्मरण गर्दै नेपाली भाषा सिक्दाको अनुभव समेत साटेकी थिइन् । नेपाली लोकसाहित्य, भाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्याउँदै आएकी संस्कृतिविद् सिस्टरले नेपालीमै मन्तव्य राख्नुका साथै भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायणको श्लोक वाचन र गीत प्रस्तुत गर्दा साहित्यप्रेमीहरुले रोचक मानेर सुनेका थिए ।

उनको स्पष्ट नेपाली उच्चारण, लयबद्ध प्रस्तुति र भाषाप्रतिको आत्मीयताले कार्यक्रममा उपस्थित साहित्यकार तथा सहभागीलाई प्रभावित बनाएको थियो। नेपाल आउनुअघि क्यासेट सुनेर नेपाली भाषा सिक्न थालेको बताउँदै उनले त्यसबेला कहिल्यै पनि नेपाली भाषा र संस्कृतिको सेवाका लागि यस्ता सम्मान प्राप्त गर्ने ठाउँमा पुग्ने कल्पना नगरेको पनि बताइन् । 

उनले आफूलाई प्राप्त सम्मानलाई नेपाली भाषा र संस्कृतिप्रतिको सम्मानका रूपमा लिएको बताइन्।