काठमाडौं। अनलाइनखबर कार्यालयको प्रवेशद्वार नजिक सोमबार पार्किङ गरिएको गाडीको स्वामित्व र प्रयोगबारे नयाँ विवरण सार्वजनिक भएको छ। उक्त गाडी गोकर्णेश्वर क्षेत्रमा सञ्चालित एक आँखा क्लिनिकका सञ्चालकको नाममा दर्ता रहेको पाइएको भए पनि उनले गाडी आफूले नचलाएको दाबी गरेका छन्।

यातायात कार्यालयको अभिलेखअनुसार बा १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा दर्ता छ। उनी काठमाडौंको गोकर्णेश्वर–९, भगवतीस्थानस्थित शंखडोल आई क्लिनिक एन्ड अप्टिकल हाउस सञ्चालन गर्दै आएका छन्।

अनलाइनखबरले सम्पर्क गर्दा पौडेलले गाडी आफ्नो नाममा भए पनि अहिले अर्कै व्यक्तिले प्रयोग गरिरहेको बताए। उनले त्यस व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराउँदै थप जानकारी उनीसँग लिन आग्रह गरे।

उक्त नम्बरमा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले गाडी पार्किङ गरिएको विषयलाई सामान्य घटना भएको दाबी गर्दै समाचारमा प्रयोग गरिएको ‘शंकास्पद’ शब्दप्रति असन्तुष्टि जनाएका थिए। उनले सार्वजनिक सडकमा गाडी राख्नु कानुनी रूपमा निषेध नभएको दाबी गर्दै सञ्चारमाध्यमले घटनालाई अनावश्यक रूपमा प्रस्तुत गरेको आरोप लगाए।

फोन वार्ताका क्रममा ती व्यक्तिले आफ्नो परिचय खुलाउन अस्वीकार गरेका थिए। यद्यपि, उपलब्ध नम्बरको आधारमा उनी सुजन पौडेल रहेको र स्थानीय स्रोतका अनुसार उनी सुनिल पौडेलका दाजु भएको बताइएको छ।

यस घटनापछि गाडी कसले पार्किङ गर्‍यो, किन कार्यालयको प्रवेशद्वार नजिक राखियो र त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा थप प्रश्न उठेको छ। हालसम्म यस सम्बन्धमा प्रहरीले कुनै आधिकारिक अनुसन्धान वा कारबाहीबारे जानकारी सार्वजनिक गरेको छैन।