काठमाडौं। विभिन्न सञ्चारगृहको प्रवेशद्वारअगाडि अज्ञात व्यक्तिले सवारी पार्किङ गरेर छोडेको घटनाले संसदसम्म प्रवेश गरेको छ। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा सांसदहरूले विषय उठाएपछि समितिले घटनालाई गम्भीर रूपमा लिँदै सरकारको ध्यानाकर्षण गराएको छ।

समिति सभापति समीक्षा बाँस्कोटाले कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन र अनलाइनखबरको गेटअगाडि निजी नम्बर प्लेटका सवारी शंकास्पद रूपमा पार्किङ गरिएको घटनाप्रति समितिको गम्भीर चासो रहेको बताइन्। उनका अनुसार ट्राफिक प्रहरीले ती सवारी हटाइसकेको जानकारी समितिले प्राप्त गरेको छ।

बाँस्कोटाले सञ्चारमाध्यमलाई त्रसित बनाउने वा काममा अवरोध सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै घटनाको निष्पक्ष अनुसन्धान, संलग्नको पहिचान र आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरिन्।

समितिले यस्ता घटनाले प्रेस स्वतन्त्रता र सञ्चार संस्थाको सुरक्षित कार्य वातावरणमाथि प्रश्न उठाउने भन्दै भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायले गम्भीरतापूर्वक कदम चाल्नुपर्नेमा जोड दिएको छ।