कञ्चनपुर। बेलौरी नगरपालिकाले चार सामुदायिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्ने तथा थप चार विद्यालयमा कक्षा घटाउने (डाउनसाइजिङ) निर्णय गरेको छ ।
नगरपालिकाले विद्यालय समायोजन, दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि–२०८३ अनुसार असार २८ गते बसेको कार्यपालिका बैठकबाट उक्त निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीका अनुसार विद्यार्थी सङ्ख्या, शैक्षिक पहुँच, उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग र शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालय समायोजन तथा डाउनसाइजिङ गरिएको हो ।
निर्णयअनुसार जनप्रिय आधारभूत विद्यालयलाई लक्ष्मी माध्यमिक विद्यालय (बजदिया), बिपी स्मृति आधारभूत विद्यालयलाई जनसेवा आधारभूत विद्यालय (टेडुवा), गौरीशङ्कर आधारभूत विद्यालयलाई सरस्वती माध्यमिक विद्यालय (बुटाबारी) र अग्रासन आधारभूत विद्यालयलाई शान्ति माध्यमिक विद्यालय (शान्तिपुर) मा समायोजन गरिनेछ ।
त्यस्तै, हाल कक्षा ५ सम्म सञ्चालन हुँदै आएका शक्ति, शुक्लाफाँटा, कृष्णप्रसाद र सरस्वती आधारभूत विद्यालयमा अब कक्षा १ देखि ३ सम्म मात्र पठनपाठन सञ्चालन हुनेछ ।
नगरपालिकाले विद्यालय समायोजन र कक्षा घटाउने निर्णयबाट शैक्षिक स्रोत–साधनको प्रभावकारी उपयोग, शिक्षक दरबन्दीको उचित व्यवस्थापन तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
बेलौरी नगरपालिकामा हाल १७ वटा आधारभूत विद्यालय, १४ वटा माध्यमिक विद्यालय र दुई वटा सामुदायिक क्याम्पस सञ्चालनमा छन् ।





































