रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि गृहमन्त्री सुधन गुरुङ प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका छन्। विपद्को गम्भीर अवस्थाबीच गृहमन्त्री गुरुङ आफैं घटनास्थलमा पुगेर उद्धार तथा राहत प्रयासको अनुगमन गरिरहेका छन्।

गृहमन्त्री गुरुङले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरिरहेको उद्धार अभियानको स्थलगत निरीक्षण गर्दै सुरक्षाकर्मीको मनोबल बढाउने काम गरिरहेका छन्। साथै उनले बाढी तथा पहिरोबाट प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या, आवश्यकता र गुनासा समेत सुन्दै आएका छन्।

विपद्को समयमा कार्यालयमै बसेर निर्देशन दिनुभन्दा घटनास्थलमै पुगेर उद्धार अभियानको नेतृत्व, अनुगमन र समन्वय गरेको भन्दै गृहमन्त्री गुरुङको सक्रियताको प्रशंसा भइरहेको छ।

उद्धारमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक सहयोग तथा निर्देशन दिँदै उनले प्रभावित नागरिकको तत्काल उद्धारलाई प्राथमिकतामा राखेका छन्।

यद्यपि, उद्धार कार्य सम्पन्न भएपछि पनि चुनौती सकिँदैन। राहत वितरण, विस्थापितको व्यवस्थापन, क्षतिको मूल्यांकन र प्रभावित परिवारको पुनःस्थापनासम्म गृहमन्त्रीको यही सक्रियता र प्रत्यक्ष उपस्थितिलाई निरन्तरता दिनुपर्ने अपेक्षा गरिएको छ।

विपद्को समयमा सरकारको उपस्थिति नागरिकले प्रत्यक्ष अनुभूति गर्नुपर्ने भन्दै प्रभावित क्षेत्रमा राज्यको राहत तथा पुनःस्थापना अभियान प्रभावकारी बनाउनुपर्ने आवाजसमेत उठिरहेको छ।