काठमाडौं । भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्य थप जटिल बनेको छ। बाढीपछि जमेको बाक्लो लेदो, दलदल र जोखिमपूर्ण भौगोलिक अवस्थाका कारण सुरक्षाकर्मीलाई खोजी अभियान सञ्चालन गर्न कठिनाइ भइरहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रभावित क्षेत्रमा बेपत्ताको खोजीका क्रममा लेदो र दलदलभित्र प्रवेश गर्नुपर्ने अवस्था रहेकाले सुरक्षाकर्मीको सुरक्षासमेत चुनौतीपूर्ण बनेको छ। जोखिमपूर्ण स्थानमा खोजीलाई प्रभावकारी बनाउन थप विशेष उपकरण र जनशक्ति आवश्यक देखिएको प्रहरीले जनाएको छ।
खोजी तथा उद्धार अभियानका लागि विशेष बुट, वायरलेस ट्र्याकिङ डिभाइस, ‘हेभी लिफ्ट’ ट्रान्सपोर्टेसन ड्रोन लगायतका उपकरण तत्काल आवश्यक रहेको प्रहरीको भनाइ छ।
त्यस्तै, बाढीपहिरोमा मृत्यु भएकाहरूको शवको चाप बढ्दै गएपछि शवको सुरक्षित भण्डारण र व्यवस्थापनसमेत चुनौतीपूर्ण बन्दै गएको प्रहरीले जनाएको छ। शवलाई सुरक्षित अवस्थामा राख्न तत्काल ‘रेफ्रिजरेटिङ कन्टेनर’ आवश्यक रहेको बताइएको छ।
बेपत्ताको खोजी, शव पहिचान तथा व्यवस्थापनका लागि फरेन्सिक विज्ञहरूको समेत आवश्यकता रहेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा खोजी अभियानसँगै शवको पहिचान र सुरक्षित व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्ने अवस्था देखिएको छ।
प्रहरीका अनुसार अत्यन्त कठिन भौगोलिक अवस्था र प्रतिकूल परिस्थितिका बाबजुद सुरक्षाकर्मीले खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेका छन्। तर आधुनिक उपकरण, प्राविधिक जनशक्ति र शव व्यवस्थापनका लागि आवश्यक पूर्वाधार तत्काल उपलब्ध गराउन नसके अभियान थप कठिन बन्न सक्ने देखिएको छ।
भोटेकोशी क्षेत्रमा बेपत्ताको खोजी तीव्र पार्न अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र शव व्यवस्थापनका लागि आवश्यक सामग्री तत्काल परिचालन गर्नुपर्ने आवश्यकता देखिएको छ।






































