काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी बाढीपछि सुरुङ क्षेत्रमा जारी उद्धारमा आवश्यक परे विदेशी विशेषज्ञ र प्रविधिको सहयोग तत्काल लिन सरकारलाई आग्रह गरेका छन्।
ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित छलफलमा थापाले नेपालसँग उपलब्ध जनशक्ति र विज्ञताले मात्रै उद्धार सम्भव नहुने अवस्था देखिएमा बाह्य सहयोग लिन हिचकिचाउन नहुने बताएका हुन्।
उनले विपद्का बेला छिमेकी तथा अन्य मित्रराष्ट्रबाट सहयोग लिनु स्वाभाविक भएको भन्दै आफूले परराष्ट्रमन्त्रीसँग समेत विदेशी सहयोगका लागि आग्रह गरिसकेको जानकारी दिए।थापाले विपद् व्यवस्थापनमा स्थानीय तहलाई केन्द्रमा राखेर संघीय सरकारले काम गर्नुपर्नेमा जोड दिए। स्थानीय सरकारलाई बाइपास गरेर उद्धार तथा राहत प्रभावकारी हुन नसक्ने उनको भनाइ छ।
प्रमुख प्रतिपक्षी दलको भूमिकाबारे स्पष्ट पार्दै थापाले विपद्को समयमा सरकारलाई सहयोग गर्नु कांग्रेसको दायित्व भएको बताए। सरकारका काममा देखिएका कमजोरी औँल्याउनु आलोचना नभई उद्धार प्रभावकारी बनाउन गरिएको सहयोग भएको उनको भनाइ छ।
देश शोकमा रहेका बेला कांग्रेसका कुनै पनि तहबाट सार्वजनिक उत्सव तथा भड्किला कार्यक्रम नगर्न उनले निर्देशन दिएका छन्। सोमबारदेखि थापा नेतृत्वको विपद् व्यवस्थापन टोली प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष अवस्थाको निरीक्षण, राहत समन्वय र सरकारलाई सुझाव दिने तयारीमा छ।





































