काठमाडौँ । भोटेकोशी र त्रिशूली बाढीपछि रसुवा, नुवाकोट र धादिङका प्रभावित बस्तीमा राहतको आवश्यकता अझै टड्कारो देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनले कुन क्षेत्रमा के अभाव छ भन्ने स्पष्ट पारेको छ।
रसुवामा उत्तरगया–१ देखि ५, गोसाइकुण्डका १, २, ३ र ५, आमाछोदिङ्मोका सबै वडा तथा कालिका–१ मा दाल, चामललगायत खाद्यान्न र सोलार ब्याट्री आवश्यक छ। आमाछोदिङ्मोका सबै वडा सडक सञ्जालबाट समेत विच्छेद छन्।
नुवाकोटमा तारकेश्वर–४ र ६ मा सेल्टर र राहत सामग्री नै पुगेको छैन। बेलकोटगढी, महादेवस्थान र रातमाटे क्षेत्रमा तत्काल राहत आवश्यक छ। किस्पाङ–५ मा बाटो र बत्तीको समस्या छ भने विदुर–१, ४, ५, ९ र १० मा मृत पशु तथा शवबाट फैलिएको दुर्गन्ध हटाउने औषधि माग गरिएको छ।
धादिङका गल्छी, गजुरी, बेनिघाट रोराङ र सिद्धलेकमा मुख्य समस्या खानेपानीको छ। चारवटै पालिकाका प्रभावितले तत्काल सुरक्षित खानेपानी मागिरहेका छन्।
अर्थात्, बाढीपछि कतै खाना र बत्तीको अभाव छ, कतै बस्ने ठाउँ छैन, कतै पानीको हाहाकार-राहत पुगे पनि प्रभावितको वास्तविक आवश्यकता अझै पूरा हुन सकेको छैन।






































