भोजपुर। जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु नौ करोड बढी राजस्व सङ्कलन भएको छ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट रु नौ करोड ६९ लाख ६३ हजार ९५० राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका अनुसार निजी वनबाट हुने काठ निकासी, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको निकासी र विकास आयोजनाबाट उक्त राजस्व सङ्कलन भएको हो । जिल्लामा वन क्षेत्र राजस्वको महत्वपूर्ण स्रोतका रूपमा स्थापित हुँदै गएको कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा निजी वनबाट २९ लाख २४ हजार ४३० क्युफिट काठ स्थानान्तरण गरिएको छ । काठ निकासीबाट मात्र रु आठ करोड १२ लाख ९३ हजार ९२५ मूल्य अभिवृद्धि कर र रु एक करोड ४६ लाख ५२ हजार ९०० प्रदेश सेवा शुल्क सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।
“जिल्लामा वन क्षेत्रबाट हुने काठ तथा अन्य वन पैदावारको कारोबारबाट नौ करोड बढी राजस्व सङ्कलन भएको छ,” प्रमुख मियाले भन्नुभयो, “वन पैदावारको उपयोगसँगै यसको व्यवस्थित व्यवस्थापन र संरक्षणमा समेत ध्यान दिइरहेका छौँ ।”
त्यस्तै, रु पाँच लाख ४१ हजार ८० वन रोयल्टी सङ्कलन भएको कार्यालयले जनाएको छ । वन क्षेत्रबाट राजस्व सङ्कलन हुनाका साथै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसर पनि सिर्जना गरेको कार्यालय प्रमुख मियाले बताउनुभयो ।
वन क्षेत्रबाट प्राप्त राजस्व र रोजगारीले स्थानीय अर्थतन्त्रमा योगदान पु¥याएकोे छ । जिल्लामा पर्याप्त वन क्षेत्र रहेकाले काठ तथा गैरकाष्ठ वन पैदावारको दिगो उपयोग, प्रशोधन र बजारीकरणलाई व्यवस्थित गर्न सके स्थानीयस्तरमा थप रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने कार्यालयको भनाइ छ ।
जिल्लाको कुल भू–भागमध्ये ८४ हजार १६१ हेक्टर अर्थात् ५५.२८ प्रतिशत क्षेत्र वनले ढाकेको छ । वन पैदावारको दिगो उपयोग, स्थानीयस्तरमै प्रशोधन तथा मूल्य अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिन सके जिल्लाले वन क्षेत्रबाट थप आर्थिक लाभ हासिल गर्न सक्ने सम्भावना छ ।




































