चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिंगे गैंडा मर्ने क्रम तीव्र बनेको छ।
पछिल्लो दुई दिनमा दुई वटा गैंडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका वडा नं १७ अमलटारी अन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वनमा एउटा पोथी बच्चा गैंडा मृत फेला परेको छ।
करिब २ वर्ष उमेरको उक्त पोथी बच्चा गैंडा प्राकृतिक कारणले मरेको अनुमान गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। थप अध्ययनका लागि आवश्यक नमूना संकलन गरी भेटेनरी शाखामा पठाइएको उनले बताए। बच्चा गैंडाको खाग र खुर सुरक्षित रहेको उनले बताए।
मंगलबार पनि अमलटारी सेक्टर अन्तर्गत गिद्देनी भन्ने स्थान नजिकै नारायणी नदि छेउमा रहेको ढिस्को उक्लने क्रममा पल्टेर उत्तानो परेर करिब ३० बर्षको भाले गैंडा मरेको थियो। उक्त गैंडाको पनि खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए।
यससँगै चितवन राष्टिय निकुञ्जमा चालु आर्थिक बर्ष ०७७÷७८ को हालसम्म मर्ने गैंडाको संख्या २५ पुगेको छ। ती मध्ये चार वटा गैंडा शिकारीले मारेका हुन्। तीन वटा गैंडा यहि आर्थिक बर्षमा मारेको र एउटा गैंडा भने अघिल्लो आवमै मारेको हुन सक्ने निकुञ्जले जनाएको छ। अघिल्लो आवमा मारिएको गैंडाको कंकाल मात्रै भेटिएको थियो।






































