काठमाडौं (राजधानी दैनिकबाट)। प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राजनीतिक दलको मान्यता पाएको छ ।
निर्वाचन आयोगको बुधबार राति बसेको बैठकले दुवै दलले कानुनअनुसार दल दर्ताका लागि प्रक्रिया पु¥याएपछि दर्ता गर्ने निर्णय गर्दै दल दर्ताको आधिकारिक प्रमाणपत्र दिएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले प्रस्तावित दुवै दललाई कानुनी आधारसहितका प्रक्रिया पु¥याएर दलको मान्यता प्रदान गरेको जानकारी दिए ।
‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) नामक राजनीतिक दलबाट छुट्टिई बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन २०७३, (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्नेगरी आयोगबाट निर्णय गरी प्रमाणपत्र दिइएको,’ आयोगको तर्फबाट प्रदान गरिएको पत्रमा भनिएको छ ।
सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गर्न आयोगमा निवेदन दिएका थिए । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएपछि दल विभाजन गर्न सकिने व्यवस्था थियो ।
नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठनका लागि एमालेको २ सय ३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । सो संख्या २७ प्रतिशत हो ।
यस्तै, नेपाल पक्षले केन्द्रीय कमिटीमा अध्यादेशअनुसार संख्या पु¥याए पनि संसदीय दलमा भने २० प्रतिशत पुर्याउन सकेन । एमालेको १ सय ५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र नेपाल अध्यक्ष रहने दलमा सनाखत गरेका हुन् । सो संख्या एमालेको संसदीय दलको कुल संख्याको १९ दशमलव ४८ प्रतिशत हो । आयोगमा सनाखतका लागि पुगेका तीन जना सांसदले भने सनाखत गर्न नपाउँदा सो संख्या नपुगेको हो ।
यसैगरी, नयाँ दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १६ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य संख्याको ३३ प्रतिशत हो । यस्तै, संघीय संसद्का १४ जना सांसदले लोसपाका पक्षमा सनाखत गरेको आयोगले जनाएको छ ।
आयोगले तोकेको विहान ११ बजेदेखि २ बजेसम्मको समयसीमाभित्रै आयोग परिसरमा सशरीर उपस्थित भएर नयाँ दल दर्ताका लागि दुवै दलका हस्ताक्षरकर्ताहरूले सनाखत गरेका थिए ।





































