बिर्तामोड / सहारा नेपाल साकोस बिर्तामोडले एक करोड सात लाख रुपैयाँ बराबरको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
साकोसले सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत नौ सय ३५ जना सदस्यलाई एक करोड सात लाख ४९ हजार रुपैयाँ वितरण गरेको हो ।
साकोसले ६० वर्ष सम्मका जेष्ठ सदस्यलाई सम्मान भत्ता स्वरुप आठ हजार, ८१ देखि ८५ वर्ष सम्मका जेष्ठ सदस्यलाई वार्षिक १० हजार, दीर्घायु सदस्य भत्ता अन्तर्गत ८६ देखि ९९ वर्षका जेष्ठ सदस्यलाई वार्षिक १० हजार, एकल महिलालाई आठ हजार र ५८ वर्ष माथिका एकल पुरुषलाई ६ हजार रुपैयाँ प्रदान गरेकाे छ ।
त्यस्तै स्मृति कार्यक्रम अन्तर्गत मृत्यु भएका सदस्य तथा कर्मचारीहरूको सम्झनामा दुईरदुई वर्षमा कार्यक्रम गरी आश्रित परिवारलाई २५ हजारका दरले ५ पटक प्रदान गर्ने भएको छ ।
परिवार राहत कार्यक्रम अन्तर्गत ७५ वर्ष माथिका सदस्य स्वयमलाई तथा मृत्यु भएको अवस्थामा परिवारलाई जिवन यापन सहजताकालागि ५० हजार प्रदान गर्ने भएको छ ।
स्वर्गीय यादव बस्नेत सहारा अक्षय कोष घोषणा र महिला रेनुका नेपाललाई विशेष सम्मान कार्यक्रम रहेको छ ।
सहारा नेपाल साकोसका पूर्व कर्मचारी स्व. यादव बस्नेतको परिवारले स्व यादव बस्नेत अक्षय कोष स्थापना गरिदिएका छन् । गौरादह नगरपालिका –६ दामुना निवासी आमा देविमाया बस्नेत, दिदी मन्जु बस्नेत, दाजु अर्जुन बस्नेत र भतिज एडमण्ड बस्नेतले १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिएका हुन् ।
यो अक्षय कोषको व्याजको रकमबाट घातक रोग लागि उपचार गर्न नसकेका विपन्न तथा गरिब मानिसलाई वार्षिक रुपमा उपचार सहयोगको लागि वितरण गरिने छ ।





































