बिर्तामोड / अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणका काम दुई सिफ्टमा गर्नुपर्ने सर्त थपिने बताएका छन् ।

राष्ट्रिय योजना आयोगसँग बजेट कार्यन्वयनबारे छलफलको क्रममा मन्त्री शर्माले ठेक्का लगाउँदा नै कागजातमा दिउँसो र राती गरी दुई सिफ्टमा काम गर्नुपर्ने सर्त थपिने बताएका हुन् । 

उनले भने, –‘दिनमा एक सिफ्ट मात्र काम गरेर पुँजीगत खर्च बढाउन सकिँदैन । पुँजीगत खर्च भएन भने आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न कठिन हुन्छ । विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन ।’ 

निर्माण कम्पनीलाई उसको कार्य क्षमताभन्दा बढी सङ्ख्यामा ठेक्का दिएर पनि आयोजनाहरू अलपत्र परेको भन्दै उनले यसको अन्त्य गर्न कानुन सच्याउने तयारी भइरहेको जानकारी दिए । 

उनले हाल बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भैरहेको जानकारी समेत दिए ।

धागो उद्योग, कपडा उद्योग, रबर उद्योग, चुरोट कारखाना लगायतका बन्द अवस्थाका उद्योगहरू नयाँ मोडालिटी बनाएर सञ्चालन गरिने शर्माले बताएका हुन् ।