विराटनगर  / प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भएको छ । 

मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको तर्फबाट १र१ जना गरी ५ सदस्यीय मन्त्रिपरिषद् गठन तयारी रहेको राईले बताए ।

स्रोतका अनुसार मुख्यमन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) बाट उपेन्द्र घिमिरे, खिनु लङ्वा लिम्बु र सरिता थापामध्येबाट मन्त्रीका रुपमा अघि सारिएको छ । 

त्यसैगरी गठबन्धनको ठूलो दल नेपाली कांग्रेसबाट दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक केदार कार्की, शिवनारायण गनगाँई, सुयर्माराज राई र शेखरचन्द्र थापाको नाम मन्त्रीको चर्चा रहेका छन् । उनीहरू मध्येबाटै मन्त्री चयन हुने जनाइएको छ ।

नेकपा (माओवादी केन्द्र) बाट दलका नेता इन्द्र आङ्बो पुनः मन्त्री बन्‍ने तयारीमा रहेका छन् । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका आङ्बोले भरसक आफू सरकारमा सहभागी नहुने बताउँदै आएका थिए । तर दलको तर्फबाट उनकै नाम अघि सारिएको जनाइएको छ ।

माओवादीबाट मन्त्री बन्नेहरूमा रामकुमार राई, झलक बहादुर मगर, उमिता विश्वकर्मा र सिता थेबे मध्येबाट हुने जनाइएको छ । मन्त्रीको नाम अन्तिम टुंगो लगाउन अहिले १२ बजे संसदीय दलको बैठक बस्‍ने माओवादीका एक सांसदले जानकारी दिए ।

प्रत्येक दलबाट कम्तिमा एकजना मन्त्री पर्ने गरी मन्त्रीहरूले सपथ ग्रहण गर्न लागेको जनाइएको छ । 

दलहरूको आन्तरिक छलफल सकिएर गठबन्धनको बैठक बस्ने र त्यसले मन्त्रीको नाम अनुमोदन गरेपछि प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण समारोहमा सहभागी हुने तयारी रहेको जनाइएको छ ।