विराटनगर / प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई नियुक्त भएका छन् ।
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज (मंलबार) उनलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश १ एमालेका सांसद भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि राईले प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।
नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री राईले आजै शपथ ग्रहण गर्नुका साथै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत विमल पौडेलले जानकारी दिए ।
राई मुख्यमन्त्रीमा नियुक्त भए पनि पाँच दलीय गठबन्धनलाई मन्त्री छान्न भने सकस भएको छ । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने अडानमा छन् ।
यता कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रमुख सचेतक केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्रालय उप नेता हिमाल कार्कीलाई दिनुपर्ने अडानमा छन् ।
जनता समाजवादी पार्टीका नेता जयराम यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय निश्चित भएको गठबन्धन दलका एक नेताले बताए ।
यस्तै, एकीकृत समाजवादीका प्रदेश सांसद खिनुलङ्बा लिम्बूलाई सामाजिक विकास मन्त्रालय दिने सम्भावना छ । लिम्बू प्रदेश १ मा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल निकट एक मात्र प्रदेश सांसद हुन् ।