जनकपुर / बमकाण्डमा संलग्न रहेका पूर्व-राज्यमन्त्री सञ्जय साहलाई उच्च अदालत जनकपुरले ११ वर्षको कैद सजाय सुनाएको छ। बिक्की दास कथबनियाले दिएको मुद्दामा बहस गर्दै न्यायाधीश धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले पूर्व राज्यमन्त्री साहलाई ११ वर्षको कैद सजाय सुनाएको हो।
यसअघि जिल्ला अदालत धनुषाले साहलाई मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय २०७५ सालमा सुनाएको थियो। यद्यपि उच्च अदालतले जनकपुरले उनलाई ११ वर्षको कैद सजाय सुनाएको हो।
उनी धनुषा क्षेत्र ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए। पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका उनलाई सभासद् रहेकै बेला दिल्लीबाट पक्राउ गरी ल्याइएको थियो।
२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपुरधामस्थित रमानन्द चोकमा धर्ना बसेकालाई लक्षित गरी शक्तिशाली बम विस्फोट हुँदा ५ जनाको मृत्यु र ३२ जना घाइते भएका थिए । सो घटनामा साहलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योग र ज्यान मार्ने षड्यन्त्र गरी दुई वटा मुद्दा चलाइएको थियो ।
धनुषा जिल्ला अदालतले साहलाई जन्मकैद सजाय सुनाएपछि उनी अहिले काठमाडौंको नख्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् । जनकपुरका सञ्चार उद्यमी अरुणकुमार सिंघानिया हत्यामा पनि साहलाई धनुषा अदालतले जन्मकैदको फैसला तोकिसकेको छ ।