विराटनगर / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सोमबार विराटनगर आएका छन् ।

ओली बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न विराटनगर आएका हुन् ।

उक्त चियापान कार्यक्रममा ओलीसँगै प्रदेश र केन्द्रका नेताहरू सहभागी हुने बताइएको छ । तर, एमालेले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) भने सहभागि नहुने भएको छ । 

गत कात्तिक १३ मा आफ्नो पार्टीले चाडपर्वको शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दा एमालेलाई पनि आमन्त्रण गरिएको तर एमाले नआएका कारण आफूहरू पनि एमालेको कार्यक्रममा सहभागि नहुने समाजवादी मोरङका प्रवक्ता ओसिम आलमले बताए । 

‘हामीले उहाँहरूलाई निम्तो पठाएका थियौं तर आउनुभएन,’ प्रवक्ता आलमले भने, ‘हामीलाई पनि निम्तो गर्नुभएको रहेछ तर हाम्रो पार्टी त्यहाँ जाँदैन ।’

कार्यक्रममा विभिन्न दलका प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गरेपछि ओलीले कार्यकर्तासँग भेटघाट गर्ने एमाले प्रदेश १ का सचिव विनोद ढकालले जानकारी दिए ।